काठमाडौंमा सम्पदामाथि हेपाइ, राज्य संयन्त्रको होस्ल्याङे प्रवृत्ति (फोटो फिचर)
इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन्। सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ।
तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन्। इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ।
मन्दिरै–मन्दिरको शहरको उपमाबाट चिनिएको काठमाडौं उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरबाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् । यही टिठलाग्दो अवस्था अहिले विद्यमान छ।
नेपाल पहिचानका अनेक आधारहरूमध्ये एक सांस्कृतिक सम्पदा पनि हो। सांस्कृतिक सम्पदाहरूले नै नेपालको आधा पहिचान बोकेको छ। नेपाली पहिचान झल्काउने सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो।
देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ? तर अवस्था त्यस्तो छैन। काठमाडौं उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदाहरु जिर्ण र बेवारिसे छन्। कतै फोहोरै फोहरे त कतै पानी आउने परम्परागत ढुंगे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ।
फुटपाथका पसलहरुले सम्पदा परिसर छपक्कै छोपिएको छ। सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरु झुन्ड्याइएको छ भने सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरू फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन्।
मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदाहरुलाई हेपिरहेको भान दिलाउँछ। अझ भनौ पार्किङले सम्पदा छोपिएको छ। नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ। सम्पदा ढाक्नेगरी जताततै ढुंगा, बालुवा, गिटीहरू थुपारिएको छ।
फागुन १३, २०७९ शनिबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।