आठ दलीय गठबन्धन नै छैन : अध्यक्ष ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससहितको आठ दलीय गठबन्धन नै नबनेको दाबी गरेका छन्।
पार्टीको तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीमाझ बोल्दै ओलीले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको जिकीरसमेत गरे।
उनले भने, ‘गठबन्धनको कुनै निर्णय छैन। आठ दलीय गठबन्धन पनि छैन। गठबन्धनका निर्णय पनि छैन। हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरूलाई बोलाइएको थियो। उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्छ। कुराकानी भइराखेको छ। हामीलाई पनि बोलाइएको थियो। गएका हौं र कांग्रेसलाई समर्थन गर्ने भन्ने कुरा प्रचण्डजीले भन्नुभयो। कसरी भन्नुभयो? त्यो उहाँको कुरा हो। अरुको त्यस्तो कुरा केही छैन। सत्तारुढ गठबन्धन कहीँ बिग्रेको छैन।’
सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरूको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने अध्यक्ष ओलीले दाबी गरे। उनले नेम्वाङलाई राष्ट्र र जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर राष्ट्रपति पदको उम्मेदवार बनाएको बताए।
‘राष्ट्रपतिको विषय वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै टुंगो लागिसकेको थियो,’ उनले भने, ‘त्यसो भएर यसमा सहमत सबै पक्ष यसमा सबै पक्ष प्रतिवद्ध भएर लाग्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’
अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति पदमा विजयी गराउनका लागि सिंगै नेपाली जनताको, मिडिया क्षेत्रको पनि साथ रहने बताए।
फागुन १३, २०७९ शनिबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।