राजनीतिक क्षति कम गर्न राप्रपा समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने

राजनीतिक क्षति कम गर्न राप्रपा समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने

काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन र संसदीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने र केन्द्रदेखि प्रदेशसम्मको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

शुक्रवार बसेको पार्टी बैठकले सरकारबारे कुनै निर्णय नगरी राष्ट्रपति मनोनयनमा प्रस्तावक र समर्थक नबस्ने मात्र निर्णय गरेको थियो। शुक्रवारको बैठकमा एमालेसहितको गठबन्धनदेखि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको व्यवहारको आलोचना भएको थियो।

शुक्रवार बेलुका आठ दलको बैठकले राष्ट्रपतिमा काँग्रेस र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने सहमति गरेसँगै राप्रपाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गर्यो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी पहिल्यै बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन। राप्रपाले एमाले भन्दा अगाडि नै समर्थन फिर्ताको निर्णय गर्यो।

समर्थनबारे राप्रपामा विवाद नभए पनि सरकारमा सहभागी हुने या नहुनेबारे तीव्र विवाद हुँदाहुँदै लिङदेन समूह सरकारमा सहभागी भयो। बदनाम ठेकेदार विक्रम पाण्डेलाई सहरी विकास मन्त्री नियुक्त गरेपछि नेतृत्वको आलोचना भएको थियो। पार्टी महामन्त्री धवल शमशेर राणाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए। भ्रष्टाचार गरे आमाको रगत खाए बराबर भन्ने दाबी गर्दै पाण्डेबारे लिङदेन मौन बसे।

यस अगाडि सरकारमा जान हतार गर्दा पार्टीलाई घाटा लागेको, जनविश्वास गुमेको भन्दै समर्थन गरे पनि सहभागी हुन नहुने पक्षको आवाज अवज्ञा गर्दै सरकारमा सहभागी हुँदाको क्षति कम गर्न पार्टी नेतृत्व नरम देखियो।

पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले निकालेको विज्ञप्तिका भाषा सरकारमा जाँदा लागेको पदको लोभको आरोपको क्षति कम गर्न 'शुभेच्छुकहरूको ठुलो पङतिको असहमतीकाविच समर्थन र सरकारमा सहभागी भएको' उल्लेख गर्दै सत्ता सहकार्य आकस्मिक बदलिएपछि समर्थन फिर्तासँगै सरकारबाट बाहिरिने निर्णय गरेको उल्लेख छ।

फागुन १३, २०७९ शनिबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।