ट्रान्सफ्याट धेरै भएको खानाले युवावस्थामै कोलेष्ट्रोल, मोटोपन तथा उच्च रक्तचापको समस्या बढ्दै

ट्रान्सफ्याट धेरै भएको खानाले युवावस्थामै कोलेष्ट्रोल, मोटोपन तथा उच्च रक्तचापको समस्या बढ्दै

काठमाडौंः ट्रान्सफ्याट (अति खराब चिल्लो) का कारण नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन्।
ट्रान्सफ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै कोलेष्ट्रोल बढ्ने, मोटोपन, उच्च रक्तचाप, मधुमेह जस्ता समस्या भई नसर्ने रोगको जोखिम हुनेतर्फ नेपाल हृदयरोग निवारण प्रतिष्ठनका राष्ट्रिय कार्यक्रम निर्देशक तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले सजग गराएका छन्।

प्रतिष्ठानले शुक्रबार आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

यस्ता समस्याका कारण हृदयघात, मस्तिष्कघात, केही क्यान्सर जस्ता नसर्ने रोगहरू उत्पन्न हुनसक्ने चिकित्सकले बताएका छन्। यस्ता रोगको समस्याका कारण निम्न र मध्यम आय भएका राष्ट्रहरूमा बर्सेनि पाँच लाखभन्दा बढी मानिसहरूको मृत्यु हुने गरको प्रतिष्ठानले जनाएको छ।

ट्रान्सफ्याटका कारण खाना अस्वस्थकर बन्ने विषय प्रमाणित भइकेको पनि चिकित्सकले स्मरण गराएका छन्। विज्ञका अनुसार नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ।

नेपालमा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या सन् २०१० मा ५१ प्रतिशत थियो। सन् २०१६ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्सफ्याटको सबैभन्दा धेरै प्रयोग हुने १० मुलुकमध्ये नेपाल पनि एक रहेको विज्ञहरूले स्मरण गराएका छन्।

विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरूमा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत वा सोभन्दा कम गराउने लक्ष्य तय भएको मुटुरोग विशेषज्ञ डा. रेग्मी बताउँछन्। हालसम्म विश्वका ४५ भन्दा बढी मुलुकले नीति, कार्यक्रम र कानूनी प्रावधानमार्फत यो लक्ष्य प्राप्त गरिसकेको उनले बताए।

त्यसैगरी दक्षिण एसियामा भारत र बङ्गलादेशले ट्रान्सफ्याटलाई दुई प्रतिशतमा सीमित गर्ने नीति पारित गरिसकेको पनि विज्ञले जानकारी दिएका छन्। नेपालमा पनि खानामा ट्रान्सफ्याट नियन्त्रण गर्ने नीति, कार्यक्रम र कानून बनाउन पहल भइरहेको प्रतिष्ठानले जनाएको छ।

गतवर्ष नेपालमा नसर्ने रोगको नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१—२०२५ जारी भएको विज्ञले बताएका छन्। जुन नीति तथा कार्यक्रमको दस्तावेजमा नेपालमा खाद्य पदार्थमा दुई प्रतिशत वा सोभन्दा कम मात्र औद्योगिक ट्रान्सफ्याटको मात्रा कायम गर्नुपर्ने उल्लेख भएको विज्ञले औँल्याएका छन्।

नेपालमा ट्रान्सफ्याटलाई दुई प्रतिशतमा सीमित गर्ने कानून छिटो लागू गरिनुपर्ने विज्ञले बताएका छन्।

फागुन १३, २०७९ शनिबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।