कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याइने
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठकले पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारबारे निर्णय गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन, चितवनमा हुने उपनिर्वाचनका लागि दल दर्तालगायत विषयमा निर्णय हुने उनले बताए।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
फागुन १३, २०७९ शनिबार ०८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।