राष्ट्रपति निर्वाचनमा आठ दलको उम्मेदवारको पक्षमा सहज बहुमत
काठमाडौँ : आठ दल एकातिर उभिएपछि नेपाली काँग्रेस पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने उम्मेदवारले सहज बहुमत पाउने देखिन्छ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा एकै ठाउँमा उभिएका हुन्।
बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने र उपराष्ट्रपतिमा जसपाको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो।
राष्ट्रपति निर्वाचनको कुल मतभार ५२ हजार ६ सय २८ छ। बहुमतका लागि २६ हजार ३ सय १५ मतभार चाहिन्छ। काँग्रेसको राष्ट्रपतिको उम्मेदवारको पक्षमा देखिएका ८ दलको कुल मतभार ३१ हजार ७ सय ४२ पुग्छ।
काँग्रेसको १६ हजार १ सय ४२ मतभार छ। माओवादीको ७ हजार ६ सय ४९ र एकीकृत समाजवादीको २ हजार ५ सय ७४ मतभार छ।
जनता समाजवादी पार्टीको २ हजार १ सय ४५, जनमत पार्टीको १ हजार २ सय ४२ र लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय १३ र राष्ट्रिय जनमोर्चाको २ सय ६ मतभार छ।
आठ दलीय गठबन्धन बाहिर रहेको एमालेसँग १५ हजार २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ४ सय ५० राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय १ मतभार छ।
सबै जोड्दा आठ दलीय गठबन्धनको विपक्षमा १९ हजार १ सय ८४ मत देखिन्छ।
फागुन १२, २०७९ शुक्रबार २३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।