कांग्रेससहितको पाँच दलको संख्या आठ पुग्यो; जनमत, नागरिक उन्मुक्ति र लोसपा पनि बैठकमा

कांग्रेससहितको पाँच दलको संख्या आठ पुग्यो; जनमत, नागरिक उन्मुक्ति र लोसपा पनि बैठकमा

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारमा सहमति गर्न जुटेको कांग्रेससहितको पाँच दलमा थप तीन दल थपिएका छन्।

सरकारलाई समर्थन गरेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै लोकतान्त्रिक समाजवादी पार्टी पनि बालुवाटार बैठकमा सहभागी भएको छ।

यसअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा बैठकमा सहभागी हुँदै आएका थिए। बालुवाटारमा भइरहेको बैठकमा थप तीन दलका नेता समेत थपिएका हुन्।

एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी मात्रै बाहिर छन्। स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा सहभागी हुन आग्रह गरेका थिए।

एमाले अध्यक्ष केपी ओलीलाई समेत प्रचण्डले सबै दलसँगै बसेर राष्ट्रिय सहमति बनाउन आग्रह गरेका थिए। तर, ओलीले पुस १० को सहमतिअनुसार राष्ट्रपति एमालेको हुनुपर्ने भन्दै छलफलमा सहभागी हुन अस्वीकार गरेका थिए।

ओलीले बालुवाटारमा बस्ने बैठकले माधव नेपालको नाममा सहमति गरे एमालेले पनि समर्थन गर्ने बताएपछि प्रचण्डले नेपालको नाममा सहमति जुटाउन सक्दो प्रयास गर्ने जवाफ दिएका थिए।

दुई घण्टाको छलफल सकारात्मक नभएपछि ओलीले नेपालसँग छुट्टै आधा घण्टा छलफल गरेर एमालेको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका थिए।

नेपालले कांग्रेस-माओवादीसहितको बैठकको निर्णयपछि यसबारे धारणा बनाउने जवाफ दिए बालुवाटार बैठकमा गएका थिए।

फागुन १२, २०७९ शुक्रबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।