प्रचण्डसँगको छलफल सकारात्मक नभएपछि ओलीले नेपाललाई फकाए, तर कुरा मिलेन

प्रचण्डसँगको छलफल सकारात्मक नभएपछि ओलीले नेपाललाई फकाए, तर कुरा मिलेन
फाइल तस्बिर- द काठमाडौं पोस्ट

काठमाडौं : राष्ट्रपति उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफल सकारात्मक नभएपछि एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार हुन आग्रह गरेका छन्।

प्रचण्डसँग प्रधानमन्त्रीको सरकारी निवासमा दुई घण्टा भएको छलफलमा राष्ट्रपतिमा एमालेको उम्मेदवारको पक्षमा सहमति हुन नसकेपछि महाराजगन्जको एक घरमा ओली र नेपाल छलफलमा बसेका थिए।

करिब आधा घण्टा भएको छलफलमा ओलीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न र सरकारमा सहकार्य गर्न आग्रह गरेका थिए।

नेपालले एकल एमालेको मात्र समर्थनभन्दा राष्ट्रिय सहमतिको आधारमा उम्मेदवार बन्न तयार रहेको र चार दलको बैठकपछि मात्र यसबारे आफूले केही भन्नसक्ने भन्दै बालुवाटार हिँडेका थिए।

एमालेको एकल सिफारिसमा सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने ओलीको रणनीति देखिए पनि माओवादी सहमत नहुँदा ओली विकल्पमा नेपालमा गएका हुन्।

उता कांग्रेसहितको चार दलमा समेत माओवादी र जनता समाजवादीले राष्ट्रपतिको उम्मेदवारमा नेपाललाई अगाडि सारेका छन्। तर, कांग्रेसले नेपाललाई केही समय सरकारको नेतृत्व गर्न दिन प्रस्ताव गर्दै राष्ट्रपतिमा भने ब्याक हुन नसक्ने अडान राखिराखेको छ।

चार दलको बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिसँगै केन्द्रदेखि प्रदेशसम्मको सरकारमा सहकार्य गर्नेबारे समेत छलफल भएको थियो। दिउसको छलफल नटुंगिएपछि बेलुका बैठक बसिरहेको हो।

फागुन १२, २०७९ शुक्रबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।