यू-१९ विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरूवात, सिंगापुर ९६ रनले पराजित
काठमाडौं : आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।
२६२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १६५ रन मात्र बनाउँदा नेपालले ९६ रनको विजयी सुरूवात गर्यो।
सिंगापुरका लागि आर्यन मोदीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५८ रन ल्याए। यस्तै, सिद्धान्त श्रीकान्तले ४४, अर्जुज नागपाल र अभ्युदय छाजेरले समान १४–१४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि सुवास भण्डारी र हेमन्त धामीले समान दुई–दुई तथा विशाल विक्रम केसीले एक विकेट लिए।
त्यसअघि युएईको आजमानमा रहेको इर्डेन गार्डेन मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७१ रन जोड्यो। उसका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले।
त्रिपाठीले ७८ रन बनाउँदा केसीले ६३ रन जोडे। अर्जुन कुमालले ३७, दीपक बोहराले १७, सुवास भण्डारीले १२, दीपकप्रसाद डुम्रेले १० रन बनाउँदा कप्तान देव खनाल २१ रन बनाउँदै अविजित रहे।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।
सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए। माहियु भाटिया र अदित्या भारगावाले १–१ विकेट लिए।
फागुन १२, २०७९ शुक्रबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।