ठुला ठेकेदारको मिलेमतो र दबाबमा सडक निर्माणको काम अलपत्र परेको तोसिमाको दाबी

ठुला ठेकेदारको मिलेमतो र दबाबमा सडक निर्माणको काम अलपत्र परेको तोसिमाको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ठेकेदारहरुको दबाबमा सडक निर्माणका आयोजनाहरू अलपत्र पारेको दाबी गरेकी छिन्। 

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लगायत सरकारी निकायहरूले नै  काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन्।

सांसद कार्कीले नेपाल सरकारको सङ्घीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठुलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ भन्दै प्रश्न गरेकी थिइन्। टुँडिखेल-फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठुला ठेकेदारको मिलेमतो र दबाब के हो भन्दै उनले सरकारसँग जवाफ मागेकी थिइन्।

'काठमाडौँ उपत्यकाको ललितपुर जिल्ला हेपिएर राज्यको ध्यान नपुगेको भान हुन्छ। पानी परे हिलो, घाम लागे धुलो। पानी हाले चिप्लिएर लड्ने, नहाले दम खोकीले मार्ने। मन्त्रीपरिषद्को प्रस्तावित मन्त्रीहरूको आवास क्षेत्र र प्रस्तावित ठुलो अस्पताल जाने नख्खु-भैंसेपाटी सडकको निर्माण कहिले टुङ्गो लाग्छ?' उनले प्रश्न राखिन्' चुनीखेल-फर्सिडोल सडक ६ वर्षदेखि अलपत्र छ। सातदोबाटो कान्ति राजपथ मुआब्जाको कारण रोकिएको छ। सडक विभाग, काठमाडौँ उपत्यका र खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो।'

उनले ठुला ठेकेदारको मिलेमतो र दबाबमा सडक निर्माणको काम अलपत्र परेको दाबी गर्दै राज्यका निकायहरू गैरजिम्मेवार हुनु कमजोरी मात्रै नभएको बताइन्। 

'बिना कुनै कसुर मेरो क्षेत्रका बासिन्दाले वायु प्रदूषणबाट उत्पन्न हुने रोग र सडक दुर्घटनाबाट ग्रसित छन्। म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भनिन्' सडक निर्माणमा हुने ढिलासुस्ती र बेथिति अविलम्ब समाधान गरियोस्।’

फागुन १२, २०७९ शुक्रबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।