एमालेबाहेकको गठबन्धनबाट राष्ट्रपति बनाउने प्रयास, तर सबै आ-आफ्नै अडानमा रहेपछि कुरो मिलेन
काठमाडौं : एमालेबाहेकको पुरानै गठबन्धनबाट राष्ट्रपति उम्मेदवार बनाउने प्रयासमा आज बिहानदेखि चार दलको बैठक बसेको थियो।
तर चार दलका बीचमा पनि राष्ट्रपतिमा सबै पार्टि आ-आफ्नै अडानमा रहेपछि कुरो मिल्न सकेन।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कांग्रेसले राष्ट्रपति पद आफैंले पाउनुपर्ने अडान राखेको छ।
कांग्रेसले अन्य दलहरूलाई आफ्नै उम्मेदवारलाई सघाउन प्रस्ताव गरेको बताइएको छ। तर अन्य दलले भने सजिलै कांग्रेसलाई समर्थन गर्ने संकेत देखाएका छैनन्।
बैठकपछि बोल्दै कांग्रेस महामन्त्री गगन थापाले भने, ‘कांग्रेसले राष्ट्रपतिमा आफ्नै उम्मेदवार प्रस्ताव गरेको छ । अन्य दलले पनि उम्मेदवारमा आ-आफ्नै नाम अघि सार्नु भएको छ।’
बैठकमा सहभागी नेकपा एसका नेता प्रकाश ज्वालाका अनुसार प्रचण्डले माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका थिए। यस प्रस्तावमा एकीकृत समाजवादी र माओवादीलाई जनता समाजवादीको पनि साथ थियो।
तर, कांग्रेसले भने राष्ट्रपति पद आफैंलाई दिन अडान राख्दै यसको बदलामा माधव नेपाललाई गठबन्धनका तर्फबाट एकवर्ष सरकार प्रमुख बनाउने प्रस्ताव अघि सारेको थियो।
सबैले आ-आफ्नै उम्मेदवार अघि सारेपछि बिहानको बैठकमा कुरा मिल्न सकेन। त्यसैले पार्टीभित्र छलफल गरेर पुनः बैठक बस्ने निर्णय भएको हो।
अहिले सहमतिमा कसलाई उम्मेदवार बनाउने विषयमा कुरा नमिले पनि साँझसम्म एउटै निर्णयमा पुग्ने समझदारी भने भएको थापाले बताए।
उनले भने, ‘बैठकमा विभिन्न प्रस्तावबारे छलफल भयो। दलहरूबीच एउटै निर्णयमा पुग्ने भन्ने समझदारी भने भएको छ। अब आ-आफ्नो दलमा छलफल गरेर अन्तिम टुंगोमा पुग्छौं।
लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि बैठकमा सहभागी गराएर आज साँझ ५ बजे फेरि बैठक बस्ने बताइएको छ।
फागुन १२, २०७९ शुक्रबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।