सन्दीपको मुद्दाको पेशी आज, विदेश जान दिन र धरौटी घटाउन उनको माग
काठमाडौं : सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेशी आज (शुक्रबार) का लागि तोकेको छ।
नाबालिग बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्चले त्यसलाई उल्टाउँदै सर्तसहित धरौटीमा छाड्ने फैसला गरेपछि उनी कारागारमुक्त भएका थिए।
धरौटीमा छाड्न उच्च अदालत पाटनले राखेको केही सर्त हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
उता धरौटीमा निकाल्ने उच्चको फैसलाविरुद्ध सरकारीपक्ष समेत सर्वोच्च अदालत गएको थियो। यसै मुद्दाको पेशी आज न्यायाधीश ईश्वर खतिवडाको इजलासमा १५औँ नम्बरमा परेको छ।
सन्दीपले बिहीबार उच्चको आदेशमा विदेश जान लगाएको रोक हटाउन माग राख्दै सर्वोच्चमा निवेदन दिएका थिए।
निवेदनमा विदेश जान लगाएको रोक फुकुवा हुनुपर्ने र २० लाख धरौटी रकम घटाउन माग गरिएको छ। रिटमा मुद्दाको फैसला हुनु अगाडि नै गोपनीयता उल्लङ्घन गरेर अपराधीका रुपमा चित्रित गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न समेत माग गरिएको छ।
फागुन १२, २०७९ शुक्रबार ११:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।