राष्ट्रिय सहमतिको रटान लगाउँदै खोपीको राष्ट्रपति छान्न शीर्ष नेतादेखि राजदूतसम्मको भागदौड
काठमाडौं: संविधानअनुसार आलङ्कारिरिक मानिएको राष्ट्रपति छान्न यतिबेला प्रमुख दलका शीर्ष नेतादेखि छिमेकी देशका राजदूतसम्म सक्रिय भएका छन्। राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने बहानामा प्रमुख दलका नेता आफू अनुकूल उम्मेदवारको पक्षमा सहमति जुटाउने भागदौडमा छन्।
यही बेला भारत अनि चीनका राजदूतको धपेडी पनि कम छैन।
राष्ट्रपतिको उम्मेदवार चयनमा सबैभन्दा धेरै व्यस्त छन् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। बिहीबार दिनभर उनी एक्लाएक्लै र संयुक्त बैठकमा व्यस्त भए। शुक्रबार पनि उनको तालिका छलफलमै व्यस्त हुने छ।
प्रचण्ड पछिल्लो समय एमालेसँग टाढिदै गएका छन्। तर, सम्बन्ध टुटिसकेको छैन।
बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग एक्लाएक्लै छलफल गरेका प्रचण्ड बेलुका तीन दलको संयुक्त बैठकमा व्यस्त भए। तीन दलको बैठक समाजवादी मोर्चा गठन र सकेसम्म राष्ट्रपतिमा माधव नेपालको नाममा सहमति जुटाउन केन्द्रित थियो। तर, प्रचण्ड कांग्रेसलाई बाइपास गरेर जाने पक्षमा देखिएका छैनन्।
'प्रचण्ड कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ', बुधबारको छलफलपछि उपेन्द्र यादवले भने।
कांग्रेस राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने पक्षमा अडिग देखिन्छ। यसका लागि पुरानो गठबन्धन ब्युँताएर सत्ता सहकार्य गर्न समेत राजी देखिन्छन् कांग्रेस नेता। कांग्रेसको पक्षमा सकारात्मक माहोल देखिए पनि सहमति जुटिसकेको छैन। कांग्रेसबाट राष्ट्रपतिका लागि सर्वाधिक चर्चामा छन्- रामचन्द्र पौडेल।
प्रचण्ड पछिल्लो समय एमालेसँग टाढिदै गएका छन्। तर, सम्बन्ध टुटिसकेको छैन।
चुनावी गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाउँदा के-के सहमति भएको थियो, पारदर्शी छैन।
राष्ट्रपतिमा माधव नेपालको नाममा सहमति जुट्नसके एमालेसँगको गठबन्धन कायमै रहनसक्छ। तर, कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गरे एमालेसँगको सहकार्य टुट्ने जोखिम देखिन्छ।
शनिबार ३ बजेभित्र राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनुपर्छ। एमाले र कांग्रेसले शनिबार उम्मेदवार टुङ्ग्याउँदैछन्।
कार्यकाल बढाउने दाहालको दाउ
चुनावी गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाउँदा के-के सहमति भएको थियो, पारदर्शी छैन।
उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि दुई महिनाअगाडि आफ्नो शरणमा आएका प्रचण्डलाई फुत्कन दिने पक्षमा छैनन्। तर, उनी कांग्रेसलाई सहजै राष्ट्रपति दिने पक्षमा पनि छैनन्।
माओवादी र एमालेका नेताहरूले मौखिक रूपमा राष्ट्रपति एमालेको हुने अनि प्रधानमन्त्रीको कार्यकाल आधा-आधा हुने सहमति भएको दावी गरिरहेका छन्। माओवादी केन्द्रका नेता दुवै विषयमा मौन छन्।
प्रचण्ड अपारदर्शी सम्झौतामा खेल्दै आफू अनुकूल राजनीतिक निर्णय गराउन सक्रिय छन्। उनको स्वार्थको केन्द्र सके आफ्नो प्रधानमन्त्रीको कार्यकाल लम्ब्याएर पाँच वर्ष पुर्याउने वा कार्यकाल बाँड्नै परे आफ्नो कार्यकालभर सरकार सुरक्षित गर्ने दाउमा देखिन्छन्।
त्यसैका लागि उनले कांग्रेस र एमाले 'कार्ड' खेलिरहेका छन्। दुवै दललाई आफ्नो विकल्पमा जान नदिन अन्य दललाई आफूसँगै लिन समाजवादी मोर्चाको कार्ड फ्याँकिरहेका छन्।
उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि दुई महिनाअगाडि आफ्नो शरणमा आएका प्रचण्डलाई फुत्कन दिने पक्षमा छैनन्। तर, उनी कांग्रेसलाई सहजै राष्ट्रपति दिने पक्षमा पनि छैनन्।
सार्वजनिकरूपमा नेपालले राष्ट्रपतिमा मोह देखाएका छैनन्। तर, ओलीको प्रस्तावपछि कतै राष्ट्रपति पाइहालिन्छ कि भनेर सके कांग्रेससहितको समर्थनमा नसके एमाले-माओवादीसहितको समर्थनमा राष्ट्रपति हुन सक्रिय छन् उनी।
गठबन्धन पनि जोगाउन अनि कांग्रेसलाई राष्ट्रपति पनि नदिन उनले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सारिसकेका छन्।
एमालेबाटै राष्ट्रपति बनाउन सम्भव भए सुवासचन्द्र नेम्वाङलाई अगाडि बढाउने तर सम्भव नभए नेपाललाई अगाडि सार्ने ओलीको रणनीति देखिन्छ।
सार्वजनिकरूपमा नेपालले राष्ट्रपतिमा मोह देखाएका छैनन्। तर, ओलीको प्रस्तावपछि कतै राष्ट्रपति पाइहालिन्छ कि भनेर सके कांग्रेससहितको समर्थनमा नसके एमाले-माओवादीसहितको समर्थनमा राष्ट्रपति हुन सक्रिय छन् उनी।
फागुन १२, २०७९ शुक्रबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।