राष्ट्रपति निर्वाचनका लागि आज अन्तिम मतदाता नामावाली प्रकाशन हुँदै
काठमाडौं: निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक हुने भएको हो।
आयोगले गत बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक नामावलीमाथि बिहीबार मध्याह्नसम्म दावी विरोधको
उजुरी दिने समय तोकिएको थियो।
राष्ट्रपतिको निर्वाचनको लागि प्रारम्भिक मतदाता सूचीमा सङ्घीय संसद्का ३३१ र प्रदेश सांसद ५५० गरी ८८१ जनाको नाम थियो। यस्तै सशस्त्र प्रहरी थमन विकको हत्याको अभियोगमा उच्च अदालतबाट पक्राउ आदेश जारी भएका लक्ष्मी महतो समेत मतदातामा थिए।
रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङको नाम भने मतदाता सूचीमा थिएन। निष्क्रिय नागरिकताको कारण रविको सांसद पद खारेज भइसकेको छ। गुरुङ भ्रष्टाचार अभियोगका कारण निलम्बनमा छन् भने चौधरी अदालतबाट आगजनीमा ६ महिना कैद पाएको खुलेपछि पक्राउ परेर जेल परेका थिए। तर राष्ट्रपतिबाट कैद माफी पाएपछि उनी कारागार मुक्त भइसकेका छन् र सांसद पदबाट उनको निलम्बन पनि फुकुवा भइसकेको छ।
फागुन १२, २०७९ शुक्रबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।