उकेरा टप फाइभ : दुई महिनामा बदलिएको दलीय गठबन्धनको खेलदेखि भेरी किनारमा बन्न लागेको आधुनिक सहरसम्म
काठमाडौं : आज राजनीतिक दलहरू राष्ट्रपति र उपराष्ट्रपतिका बारेमा सहमति जुटाउनमा नै केन्द्रित थिए। तर विभिन्न चरणमा भएका छलफलमा पनि सहमति जुटेन र राष्ट्रपतिको विषयमा आज कुनै टुंगो लागेन।
सहमति कै लागि प्रधानमन्त्री प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका नेताहरूसहितको तीन दलको बैठक बसेको थियो। उक्त बैठकले कुनै निष्कर्ष ननिकालेपछि शुक्रबार फेरि कांग्रससहितको चार दलको बैठक बस्ने बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले पनि छलफल चलिराखको र शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा फेरि भेट गर्ने बताए।
आजका टप फाइभ
स्वास्थ्य सामग्री खरीदमा सङ्घभन्दा चार गुणा महँगा प्रदेश, स्थानीय तह ६ गुणा महँगा
उकेराले दिनको सुरुवातमा सरकारी स्वास्थ्य संस्थाले स्वास्थ्य सामग्री खरीद गर्दा ‘सेन्ट्रल बिडिङ एण्ड लोकल पर्चेजिङ’ प्रणाली अनुरुप गर्नुपर्नेमा त्यस्तो नभइरहेको बारेको स्टोरी प्रकाशित गरेको थियो।
‘सेन्ट्रल बिडिङ एण्ड लोकल पर्चेजिङ’ प्रणाली लागू गरेको खण्डमा अनियमितता न्यूनीकरण गर्न सकिने बताइएको छ। तर, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले भने सरकारी स्वास्थ्य संस्थाले औषधि, औषधिजन्य सामग्री तथा मेसिन–उपकरण खरीद गर्दा यस्तो प्रणाली अभ्यासमा ल्याउनै सकेको छैन।
दुई महिनामै बदलिएको राजनीतिको दुई दृश्य : पुस १० मा कांग्रेस हेर्या हेर्यै, फागुन ११ मा एमाले
राष्ट्रपतिको विषयमा सहमति जुटाउने क्रममा दुई महिना पहिले र आजको नेपाली राजनीतिको दृश्य कसरी बदलियो भनेर आज उकेराले समाचार प्रकाशित गरेको थियो।
चुनावमा गरेको पाँच दलीय गठबन्धन छाडेर दुई महिना अघि एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड फेरि पुरानै गठबन्धनमा फर्कने तयारीमा सक्रिय भएका छन्।
उता चलचित्र विकास बोर्डले दुबइमा गरेको नेपाल फेस्टमा सहभागी हुन गएका बोर्डका दुई कर्मचारी नक्कली डलर केसमा प्रहरीको अनुसन्धानको दायरामा परेका छन्।
बोर्डका अध्यक्ष भुवन केसीसहितको टोलीले ११ फेब्रुअरीमा दुबइको विमानस्थलमा उत्रिएर विमानस्थलभित्रकै पैसा साट्ने काउन्टरमा गएर डलर साट्ने प्रयास गरेको थिए। उनीहरूले दिएको केही नोट नक्कली देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
दश अर्बको खर्चमा भेरी किनारमा बन्दै छ भव्य नयाँ सहर
त्यसैगरी दश अर्बको खर्चमा भेरी किनारको खाली क्षेत्रमा आधुनिक नयाँ सहर बनाउने काम अगाडि बढेको छ।
सरकारले आर्थिक वर्ष २०७३-०७४ मा मध्य पहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यका नमुना आधुनिक सहर निर्माणको घोषणा गरेकोमा हाल यसैको काम सुरु भएको हो।
श्रीमतीलाई चिठी लेख्दालेख्दै कवितामा रस बसेका कृष्णशरणको महाकाव्य लेख्ने धोको
उकेराको नियमित कोलम अन्तर्गत आज बिहीबारको कोलम ‘हिजोका कुरा’ मा श्रीमतीलाई चिठी लेख्दालेख्दै कवितामा रस बसेका र अब महाकाव्य लेख्ने धोको भएका साहित्यकार कृष्णशरण उपाध्यायको कथा प्रकाशित भएको थियो।
फागुन ११, २०७९ बिहीबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।