भूमि आयोग सुर्खेतले गर्यो ५७९ लाल पूर्जा वितरण

सुर्खेत : राष्ट्रिय भूमि आयोग, जिल्ला समिति सुर्खेतले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिन लाल पुर्जा वितरणको कामलाई तिब्रता दिएको छ। आयोगले सुर्खेतमा पाँच सय ७९ लाल पुर्जा वितरण गरेको छ।
योभन्दा पहिलेका समितिले संकलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको लाल पुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए।
‘विगतदेखि जग्गा भोगचलन गरेर बसोबास गरिरहेका कतिपय परिवारलाई लाल पुर्जा दिइसकेका छौं भने कतिपय स्थानीय तहमा पुर्जा वितरणको तयारी थालेका छौं,’ उनले भने।
‘राष्ट्रिय भूमि आयोग २०७८ गठन भएपश्चात् पहिलो चरणमा सुर्खेतका तीन वटा पालिकामा काम सुरु गरिएको थियो। जसअनुसार पहिलो चरणअन्तर्गत भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा चौकुने गाउँपालिकामा लाल पुर्जा वितरण गरिसकेका छौं,’ उनले थपे।
स्थानीय तहमा जग्गाको विवरण संकलनका लागि प्राविधिक कर्मचारीहरूले काम गरिरहेका छन्। राष्ट्रिय भूमि आयोगले केन्द्रबाट सुर्खेतमा प्राविधिकसहितका २१ जना कर्मचारीहरू उक्त कामका लागि खटाएको छ।
भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित आयोगले जिल्लामा छिटोभन्दा छिटो स्थायी लाल पुर्जा वितरण गर्नेगरी काम गरिरहेकोले यसपटक धेरै जना भूमिहिन सुकुमबासीले पुर्जा पाउने अध्यक्ष पौड्यालको भनाई छ।
यसअघिको आयोगले सुर्खेतमा झन्डै सात सय परिवारलाई लाल पुर्जा वितरण र अन्य सयौं परिवारका जग्गा नापजाँच लगायतका काम अघि बढाएको थियो। आयोगले लाल पुर्जा बाँड्ने अन्तिम सुरसार गरिरहेका बेला उक्त आयोग नै खारेज भएको थियो।
जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी ५४ हजार पाँच सय ९७ निवेदन संकलन भएका थिए।
समितिका अनुसार त्यसमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासी पाँच हजार आठ सय ९५ परिवार छन् भने अव्यवस्थित बस्ती ४८ हजार सात सय रहेका छन्।
फागुन ११, २०७९ बिहीबार २०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।