दश अर्बको खर्चमा भेरी किनारमा बन्दै छ भव्य नयाँ सहर

दश अर्बको खर्चमा भेरी किनारमा बन्दै छ भव्य नयाँ सहर

सुर्खेत : भेरी किनारको खाली क्षेत्रमा आधुनिक नयाँ सहर बनाउने काम अगाडि बढेको छ। तीन चरणमा बाँडिएको योजनाअनुसार पहिलो चरणको निर्माणको काम अगाडि बढेको हो।

सरकारले आर्थिक वर्ष २०७३-०७४ मा मध्य पहाडी राजमार्ग क्षेत्रमा १० नयाँ सहरसहित सुर्खेतको भेरी किनारका तीन वटा नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यका नमुना आधुनिक सहर निर्माणको घोषणा गरेको थियो।

भेरी नदी वारी र पारीको ४ सय ६० वर्ग किलोमिटर क्षेत्रमा तीन वटा पालिकालाई समेटेर नयाँ सहर बनाउने तयारी भएको हो। नयाँ सहर आयोजनाले गुर्भाकोट नगरपालिकाको मेहलकुनामा फिल्ड कार्यालय स्थापना गरेर काम सुरु गरेको छ।

केही दिनअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोलीले भेरीगंगा उपत्यकाको निरीक्षक गरेर सरोकारवालाहरूसँग नयाँ सहर बारेमा छलफल गरेका थिए।

‘हिमाली र पहाडी क्षेत्रको बसाइसराइलाई भेरी किनारमै रोक्न नयाँ सहरले सहज बनाउने छ,’ सचिव आचार्यले भने, ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिने र  विकास प्राधिकरण गठन गरेर अगाडि बढाउने गरी हामी प्रक्रिया अघि बढाउँछौँ।’

 

उनले नदी किनारमा नेपालमा आधुनिक बस्तीहरू नरहेकाले भेरी किनारको बस्तीलाई धार्मिक, संस्कृति, जल पर्यटनका हिसाबले सम्पन्न बनाउने गरी काम गर्ने बताए।

नयाँ सहर अन्तर्गत गुर्भाकोट नगरपालिकाको खटाङमा तीन मुखे झोलुङ्गे पुल निर्माण हुँदै छ। चालू आर्थिक वर्षदेखि निर्माण सुरु हुने पुलकोबीच भागमा भ्यूटावर बन्ने छ।

यस्तै भेरीगंगा नगरपालिकाको चिप्लेमा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले १३.५ मिटर लामो ट्याम निर्माण गर्दै छ। भेरीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको ड्याम तयार भएपछि चिप्लेदेखि खटाङ टापुसम्म समुन्द्र बन्नेछ।

भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर कर्णाली प्रदेशको प्रवेशद्वारमै पर्छ भने नयाँ सहरलाई रत्न राजमार्ग, मदन भण्डारी राजमार्ग र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डले घेरेको छ।

नयाँ सहर बन्ने उपत्यका ४३० मिटर (होचो) देखि २१४५ मिटर (अग्लो) भूभागसम्म फैलिएको छ। भेरीगंगा उपत्यकालाई सुर्खेतसहित जाजरकोट, सल्यान, डोल्पा, रुकुमलगायतको मुख्य केन्द्रको रूपमा विकास गरिने गुरुयोजनामा उल्लेख गरिएको छ ।

बस्ती विकाससँगै सडक, हाटबजार, जङ्गल क्षेत्र, सिटी हल, बसपार्क, पार्कहरूका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी भइरहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अम्मर थापाले जानकारी दिए।

कार्यालयका इन्जिनियर रामकृष्ण आचार्यले भेरी किनारमा सुरक्षित र सन्तुलित सहरको विकास सकिने, व्यवस्थित बस्ती विकासका लागि प्रशस्त जमिन रहेको, अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई आयोजना, दुई ठुला सरकारी अस्पताल, खटाङलगायतका पर्यटकीय तथा धार्मिक क्षेत्र, राजनीतिक नेतृत्वको इच्छाशक्तिलगायतका कारणले नयाँ सहर निर्माणले चाँडै गति लिने बताए।

अहिलेसम्म नयाँ सहर योजना अन्तर्गत १० करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए। आगामी आर्थिक वर्षका नयाँ सहर योजनाका लागि १० अर्ब रुपैयाँ प्रस्ताव गरिएको उनले जानकारी दिए।

उनका अनुसार नयाँ सहरका लागि अल्पकालीन, मध्यकालिक र दीर्घकालीन योजना बनाइएको छ। अल्पकालीन योजना पाँच वर्षमा, मध्यकालिक योजना १० देखि १५ वर्षमा र दीर्घकालीन योजना २० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरले घोरेटादेखि घाट गाउँसम्मको भेरी नदी किनारको ११५ किलोमिटर क्षेत्रलाई समेट्छ। अल्पकालीन र मध्यकालिक योजना भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाको ४६० वर्ग किलोमिटर क्षेत्रभित्र पर्छ।

फागुन ११, २०७९ बिहीबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।