केपी ओली कपमा पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

केपी ओली कपमा पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

काठमाडौं :  सातदोबाटो यूथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो यूथ क्लब सेमिफाइनलमा पुगेको हो।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। सातदोबाटोलाई जिताउन दीपकराज सिंह ठकुरीले दुवै गोल गरेका थिए। प्रहरीको तर्फबाट प्रवीण थापाले एक गोल गरेका थिए।

दीपकले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो। प्रतिस्पर्धात्मक खेलमा दीपकको गोलबाट अग्रता लिए पनि दोस्रो हाफको चौथो मिनेटमा नै पुलिसले गोल फर्कायो।

खेलको ४९ औँ मिनेटमा प्रवीणले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। सातदोबाटोले ७१ औँ मिनेटमा दीपककै गोलबाट अग्रता दोब्बर बनायो। बाँकी समयमा थप गोल हुन सकेन र सातदोबाटोले अन्तिम चारमा पुग्न सफल भयो।

प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सात दोबाटो यूथ र जावलाखेल यूथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिष्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ। 

फागुन ११, २०७९ बिहीबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।