नेप्सेमा पहिरो, लघुवित्तमा सबैभन्दा बढी गिरावट

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको काम कारबाहीमा कडाइ गरेसँगै आज लघुवित्त संस्थाहरुको शेयर मूल्यमा उच्च अङ्कको गिरावट आएको छ।
बिहीबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको हो। जसमध्ये लघुवित्तमा मात्रै ९.५४ अङ्कको गिरावट आएको छ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये ४० कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट भएर नेगेटिभ सर्किट लागेको छ। जसमा अधिकांश लघुवित्त कम्पनी नै छन्।
जसकारण बिहीबार नेप्से परिसूचक पनि ५७.७४ अङ्कले ओरालो लागेर २०२२.६४ मा पुग्यो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ११.९५ अङ्कले घटेर ३८४.४० मा सीमित भएको छ।
कारोबार भएकामध्ये आज १४ कम्पनीको मात्रै शेयर मूल्यमा वृद्धि भयो भने २०३ कम्पनीको शेयर मूल्यमा गिरावट आयो।
जसअनुसार कुल ६३ लाख २६ हजार एक सय पाँच कित्ता शेयर दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैयाँमा खरिद बिक्री भए।
फागुन ११, २०७९ बिहीबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।