जन्म मिति विवादमा तानिएका डिआइजी सिंहको राजीनामा गृह पुग्यो

जन्म मिति विवादमा तानिएका डिआइजी सिंहको राजीनामा गृह पुग्यो

काठमाडौँ : जन्म मिति विवादमा तानिएका नेपाल प्रहरीका डिआइजी अशोक सिंहको राजीनामा पत्र गृह मन्त्रालय पुगेको छ। बुधवार दिनभर उनले राजीनामा दिएको समाचार सार्वजनिक भए पनि औपचारिक रूपमा कसैले पुष्टि गरेको थिएन।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले बुधवार ढिला सिंहको राजीनामा पत्र आएको र सो पत्र प्रक्रिया अनुसार गृह मन्त्रालयमा पठाएको जानकारी दिए। उनको नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्म मिति १ वर्ष ६ महिना २४ दिन फरक देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

नागरिकता अनुसार उनको जन्म मिति २०२४ जेठ २२ रहे पनि शैक्षिक योग्यताको प्रमाण पत्रमा भने २०२५ पुस १६ उल्लेख छ।

फागुन ३ गते परेको उजुरीबारे आयोग निष्कर्षमा पुग्नु अगाडि नै सिंहले राजीनामा दिएका हुन्। सिंह एआइजीमा पहिलो नम्बरमा बढुवा भएर प्रहरी महानिरीक्षक हुने प्रतिस्पर्धामा थिए। प्रहरी सङ्गठनमा विवादित छवि भएका उनको शैक्षिक प्रमाण पत्र समेत शङ्कास्पद देखिएको थियो।

फागुन ११, २०७९ बिहीबार १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।