घरेलु सिरिजमा उत्कृष्ट बलिङ गरेका सन्दीप किन परेनन् यूएई जाने नेपाली टिममा?

घरेलु सिरिजमा उत्कृष्ट बलिङ गरेका सन्दीप किन परेनन् यूएई जाने नेपाली टिममा?

काठमाडौं : आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज खेल्न यूएई जान लागेको नेपाली टिममा पूर्व कप्तान सन्दीप लामिछानेको नाम समावेश छैन।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले निकालेको १५ सदस्य नेपाली खेलाडीको सूचीमा सन्दीप परेका छैनन्।

नाबालिग बलात्कार आरोपमा कारागार चलान भएका उनले पाँच महिनापछि मैदान फर्कदै नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडीआई सिरिज खेलेका थिए।

कीर्तिपुरमा मंगलबार सम्पन्न सिरिजमा सन्दीपले सानदार प्रदर्शन गर्दै ४ खेलमा १३ विकेट लिएका थिए। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने फैसला गरेपछि उनी टिममा फर्किएका थिए।

तर अदालतको फैसलामा उल्लेख भएका विभिन्न पाँच सर्त मध्ये उनले नेपाल छाड्न नपाउने सर्त पनि रहेको छ। यदि सर्त उल्लङ्घन भएमा पुनः कारागार चलान हुने पनि उल्लेख छ।

त्यसैले क्यानले कानुनी समस्या हुनसक्ने देखेपछि उनलाई टिममा समावेश नगरेको जनाएको छ। नेपाली टिममा पहिलो पटक श्याम ढकाल र प्रतिश जीसीले ठाउँ पाएका छन्।

नेपालले १५ देखि २२ फागुनसम्म यूएईमा हुने लिग-२ अन्तर्गतको अर्को त्रिकोणात्मक ओडीआई सिरिजमा आयोजक यूएई र पपुवा न्युगिनीसँग खेल्दैछ।

फागुन ११, २०७९ बिहीबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।