इजरायली आक्रमणमा ११ प्यालेस्टाइनीको मृत्यु, एक सयभन्दा बढी घाइते

इजरायली आक्रमणमा ११ प्यालेस्टाइनीको मृत्यु, एक सयभन्दा बढी घाइते
तस्बिर: एपी

एजेन्सी: इजरायली सेनाले वेस्टब्याङ्कमा बुधबार गरेको आक्रमणमा कम्तीमा पनि ११ जना प्यालेस्टाइनीहरू मारिएका छन्। सोही घटनामा एक सय जनाभन्दा बढी घाइते भएका छन्।

इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन्।

इस्लामिक जिहाद लडाकू समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ। तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन।

नाब्लस आक्रमणमा मारिएकामध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकू समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दावी गरेको छ।

एक जनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुई जना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ। इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेनाविरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए।

फागुन ११, २०७९ बिहीबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।