हिंसा दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइयो : एमाले अध्यक्ष ओली

हिंसा दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइयो : एमाले अध्यक्ष ओली

काठमाडौं: माओवादी केन्द्रले पार्टीगतरूपमा मनाउँदै आएको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्। फागुन १ गते मनाइने जनयुद्ध दिवसलाई यस वर्ष सरकारले राष्ट्रिय दिवसको मान्यता दिई सार्वजनिक बिदा दिएको थियो।

एमाले अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको पनि बताए। उनले उक्त दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउनु दुखद् भएको पनि बताए।

बिहीबार ओलीको जन्मदिनको अवसरमा बालकोटमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, 'अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई राष्ट्रिय दिवस मनाउने भनेर क्यालेण्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाहिँ सही होइन। सरकारले किन त्यो गर्यो? आकास्मिक रूपमा त्यो किन गर्नुपर्यो? आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नपर्यो? त्यो मैले पनि बुझेको छैन।'

उनले नेपाल हिंसाको पक्षमा हुन नसक्ने र नेपाली जनताबीच परस्परमा लडन्, लडाउने कुरालाई स्वीकार गर्न नसकिने पनि बताए।

फागुन ११, २०७९ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।