आवास ग्रुपले सबै सवारीसाधनमा प्रयोग हुने ब्याट्री नेपालमै उत्पादन गर्ने

आवास ग्रुपले सबै सवारीसाधनमा प्रयोग हुने ब्याट्री नेपालमै उत्पादन गर्ने

बुटवल: नेपालमै हेलमेट तथा मोटरसाइकलको लेगगार्ड उत्पादन गर्दै आएको बुटवलको आवास ग्रुपले अब सबै प्रकारका सवारीसाधनमा प्रयोग हुने ब्याट्री समेत उत्पादन गर्ने भएको छ। ग्रुपले नयाँ उत्पादनका रूपमा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे ई–रिक्सा, कार, बस, ट्रक, ट्र्याक्टर, इन्भर्टर र सोलारमा प्रयोग हुने ब्याट्रीहरूको उत्पादन सुरु गरेको हो।

नेपालमा सवारीलक्षित उद्योगहरू खुल्न थालेको समयमा आवास ग्रुपले पनि सवारीसाधनमा प्रयोग हुने ब्याट्री उत्पादन सुरु गरेको ग्रुपले जनाएको छ। कम्पनीले आयात प्रतिस्थापन गर्न सक्नेगरी र बजारको माग धान्न सक्नेगरी उत्पादन गर्न लागेको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले जानकारी दिए।

बजारमा ड्राई ब्याट्रीहरू धेरै देखिन्छ तर, ड्राई ब्याट्रीको तुलनामा जेल ब्याट्री गुणस्तरीय र भरपर्दो हुने थैवको दावी छ। 'कम्पनीले नयाँ प्रविधिमा आधारित जेल तथा लिड एसिड ब्याट्रीको उत्पादन गर्न सम्पूर्ण तयारी पूरा गरेको छ। अबको केही दिनमा नै स्वदेशमै बनेको गुणस्तरीय ब्याट्री उपलब्ध हुनेछ’, निर्देशक थैवले भने।

थैवका अनुसार कम्पनीले ‘मिकासा र ओक्साइड ब्राण्ड’ को नाममा ब्याट्री ल्याउन लागेको हो। मिकासा ब्राण्डका ब्याट्री दुईपाङ्ग्रेको लागि र ओक्साइड ब्राण्डका ब्याट्री तीनपाङ्ग्रे तथा अन्य साधनहरूमा प्रयोग हुनेछ।

दुईपाङ्ग्रे तथा इलेक्ट्रिक रिक्सामा प्रयोग हुने ब्याट्रीमा दुई वर्षको वारेन्टी रहने छ। अन्यमा प्रयोग हुने ब्याट्रीमा तीन वर्षको वारेन्टी उपलब्ध हुनेछ। यी ब्याट्रीहरू मेन्टिनेन्स फ्री रहेको कम्पनीले जनाएको छ।

कम्पनीले निकट भविष्यमा नै इलेक्ट्रिक स्कुटरहरूमा प्रयोग हुने लिड एसिड ब्याट्री उत्पादनको काम सुरु गर्ने समेत जानकारी दिएको छ। कम्पनीले त्यसका लागि अध्ययन गरेर काम सुरु गर्ने र लिथियम आयन ब्याट्री निर्माणको लागि अध्ययन गरिरहेको जनाएको छ।

कम्पनीले नेपाली बजारमा ग्लोबल सर्टिफाइड हेलमेट तथा लेगगार्ड बिक्री गरिरहेको छ। यती ब्राण्डका उच्चस्तरीय हेलमेट तथा मयूर ब्राण्डका लेगगार्डहरू कम्पनीले उत्पादन र बिक्री गर्दै आएको छ।

फागुन ११, २०७९ बिहीबार ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।