स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

काठमाडौं: बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्त्व गर्दै स्विट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन्। भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए।

विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले धन्यवाद दिएका थिए। भेटमा २०७२ सालको भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरेका थिए।

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत हाल भइरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा राखेका थिए।

विश्व स्वास्थ्य संगठनका समन्वय सेन्टरहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूमा पनि भेटमा छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

फागुन ११, २०७९ बिहीबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।