बचतकर्ताको पैसा फिर्ता दिन नसकेपछि शिव शिखर सहकारीले फागुन २३ गतेसम्म काउन्टर बन्द गर्यो

बुटवल: समस्याग्रस्त भएको बुटवल योगिकुटीस्थित 'शिव शिखर बहुउद्देश्यीय सहकारी'ले फागुन २३ गतेसम्मका लागि काउन्टर बन्द गरेको छ। बचतकर्ताको रकम फिर्ता दिन नसकेपछि सहकारीले पुँजी व्यवस्थापनको कारण देखाउँदै फागुन २३ गतेसम्म काउन्टर बन्द गरेको हो।
आर्थिक मन्दीका कारण सबै बचतकर्ताहरू एकै पटक चल्ती खाता, मुद्दती खाता र शेयरको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकोले २३ गते सम्मका लागि बुटवलबाट आर्थिक कारोबार बन्द गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील बानियाँले बताए।
साथै सहकारीले आफूहरू संस्थाको मर्जर प्रक्रियामा रहेको समेत बताएको छ। सहकारीले सूचना टाँसेर आर्थिक कारोबार बन्द गरेपछि अहिले बचतकर्ताहरू सशंकित बनेका छन्।
दैनिक सयौँको सङ्ख्यामा बचतकर्ताहरू सहकारीको कार्यालय पुगे पनि सूचना हेर्दै फर्कँदै गरेका छन्।
सहकारीका सञ्चालकको तर्फबाट समेत प्रतिबद्धता जनाउँदै शेयर सदस्यको रकम जसरी पनि फिर्ता गर्ने पत्र समेत उक्त सूचनासँगै टाँसिएको छ।
सहकारीका सञ्चालक समितिका तर्फबाट प्रतिबद्धतामा पछिल्लो समय केही अनलाइन सञ्चारमाध्यमबाट समाचार आएपछि धेरै सदस्यहरू एकैपटक आफ्नो बचत रकम फिर्ता गर्न काउन्टरमा आउँदा देशैभरिका शाखाहरूमा एकैपटक चाप देखिएको र सहकारी ऐन बमोजिम तरलता पनि सकिएको बताउँदै बचतको ठूलो हिस्सा बजारमा लगानी गरेको र त्यो सबै सुरक्षित रहेको उल्लेख गरेको छ।
तर, देशको अर्थतन्त्रमा सिर्जना भएको असहज अवस्थाले सबै लगानी सहज रूपमा उठ्न नसकेको उक्त सहकारीले जनाएको छ। सहकारीमा देखिएको समस्या सामाधानको लागि प्रयास गरिरहेको र आर्थिक मन्दीका कारण केही समस्या आए पनि प्रचार गरिएजस्तो सहकारीमा समस्या नरहेको सञ्चालक समितिहरूले दावी गरेका छन्।
सहकारीका अध्यक्ष सुशील बानियाँ, उपाध्यक्ष भोजराज पौडेल लगायत सदस्यहरूले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर कार्यालय बाहिर टाँसेका छन्।
शिव शिखर बहुउद्देश्यीय सहकारी मात्र नभई अन्य जिल्लाबाट शाखा कार्यालय सञ्चालन गरेका सहकारीले पनि बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको गुनासो आउने गरेको छ। सहकारीको मर्मअनुसार सञ्चालकहरूले सहकारी सञ्चालन नगर्दा समस्या देखापरेको रुपन्देही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वसन्त ढकालले बताए।
जिल्लामा स्थापना भएका सहकारीभन्दा पनि जिल्ला बाहिरबाट शाखा कार्यालय खोलेर बचत सञ्चालन गर्दै आएको सहकारी बढी समस्याग्रस्त देखिएको उनको भनाइ छ। अहिलेको आर्थिक मन्दिको प्रभाव र सहकारीले आफ्नो नीतिभन्दा बाहिर जाँदा अहिले सहकारीमा समस्या परेको उनले बताए।
रुपन्देहीमा करिब ६०० सहकारी छन्। जिल्लामा डिभिजन कार्यालयहरूबाट सहकारीको अनुगमन र नियमन हुने गर्दा सहकारी अनुशासित हुने गरेको तर अहिले नियमनकारी निकायको अलमलले गर्दा पनि समस्या देखापरेको ढकालको भनाइ छ।
अहिले तीनै तहका सरकारलाई आ–आफ्नो क्षेत्राधिकारमा पर्ने सहकारीको अनुगमन तथा नियमन गर्ने अधिकार छ। तर ती अनुगमन नियमन प्रभावकारी हुन नसक्दा सहकारीमा विकृति देखापर्न थालेको सरोकारवालाहरूको भनाइ छ।
फागुन ११, २०७९ बिहीबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।