‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

एजेन्सी: अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दावी गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि पोल्याण्डको वार्सामा भाषण गर्दै बाइडेनले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दावी गरेका हुन्।

युक्रेनप्रति संयुक्त राज्य अमेरिका र उसका साझेदारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाइडेनले रुसी राष्ट्रपतिको आरोपको खण्डन गरे। बाइडेनले आफू पुटिनजस्तो निरङ्कुश एवम् कठोर नभएको पनि बताए।

रुसका राष्ट्रपति पुटिनले युक्रेनमा एक वर्षदेखि जारी युद्धका लागि अमेरिकासहित पश्चिमा राष्ट्रहरूलाई दोष दिएका थिए।

रुसी संसद्मा उनले युक्रेनलाई पश्चिमा राष्ट्रहरूले ‘रुसविरोधी’ बनाउने प्रयास आरोप लगाउँदै आफ्नो देशको अस्तित्व जोखिममा परेको बताए। सम्बोधनका क्रममा उनले अमेरिकासँगको आणविक हतियार सन्धिमा सहभागी नहुने घोषणा पनि गरेका थिए।

रुसी राष्ट्रपतिले आफ्नो देशमाथि लादिएको प्रतिबन्ध सफल नहुने बताउँदै आफ्नो देशले व्यवस्थित रूपमा आफ्नो उद्देश्य प्राप्त गर्न युद्ध निरन्तर हुने वाचा गरेका थिए।

किएभको अप्रत्यासित भ्रमण गरेर वार्सा आएका अमेरिकी राष्ट्रपतिले पश्चिमा मुलुकले रुसमाथि आक्रमण गर्ने कुनै योजना नबनाएको पनि स्पष्ट पारे। रुसी राष्ट्रपतिले आफ्नो देशमाथि अमेरिकासहितका पश्चिमा देशले आक्रमण गर्ने योजना बनाएका आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिले त्यसो भनेका हुन्।

त्यसअघि राष्ट्रपति बाइडेनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेटेर आफ्नो भ्रमण संवेदनशील क्षणमा भएको बताउँदै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सामूहिक रक्षाको सिद्धान्तप्रति वासिङ्गटनको प्रतिबद्धता दोहोर्याएका थिए।

फागुन १०, २०७९ बुधबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।