मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रभाव : नेप्सेमा सुधार देखियो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रभाव : नेप्सेमा सुधार देखियो

काठमाडौं: निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सुधार देखिएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापश्चात् नेप्सेमा सुधार देखिएको हो।

पछिल्लो पाँच दिनको कारोबारमा १३५.८२ अङ्कले घटेको नेप्से बुधबारको कारोबारमा ३३.५७ अङ्कले बढेर २०८०.३८ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८० अङ्कले बढेको छ। फ्लोट इण्डेक्स २.३४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अङ्कले बढेको छ।

बुधबार कारोबारमा आएका २६९ कम्पनीको ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको खरीदबिक्री भएको छ। मङ्गलबारको तुलनामा कारोबार रकम समेत बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये बुधबार तीन उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। जसमा जलविद्युत् उपसमूहको परिसूचक ३.८५ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ। लघुवित्त उपसमूहको परिसूचक १.३८ प्रतिशतले घटेको छ।

बुधबार नेप्से परिसूचक बढेसँगै तीन कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ। जसमा लिबर्टी इनर्जीको शेयर मूल्य ९.८०, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको ९ प्रतिशतभन्दा बढी बढेको छ। पिपुल्स पावरको शेयर मूल्य ८.४० प्रतिशत बढेको छ।

यता आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार हिमालयन डिस्टिलरी कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरीदबिक्री भएको छ।

फागुन १०, २०७९ बुधबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।