फरार कोइरी राष्ट्रपति निर्वाचनको मतदाता, अरुणको नाम छैन

फरार कोइरी राष्ट्रपति निर्वाचनको मतदाता, अरुणको नाम छैन

काठमाडौं : निर्वाचन आयोगले हत्या अभियोगमा पुर्पक्षका लागि कारागारमा हुनुपर्ने फरार अभियुक्त लक्ष्मी महतो कोइरीलाई राष्ट्रपती निर्वाचनको मतदाता कायम राखेको छ।

सशस्त्र प्रहरी थमन विकको हत्याको अभियोगमा उच्च अदालतबाट पक्राउ आदेश जारी भएका उनी एमालेको टिकटमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

अदालतले पक्राउ गरेर बुझाउन आदेश दिए पनि सांसदको शपथ खाँदै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सफल भएका उनी पछिल्लो समय भूमिगत छन्।

अदालतको रेकर्डमा फरार रहेका व्यक्ति संसदमा सहभागी हुँदा पनि पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयलाई पक्राउको आदेश दिएका थिए।

आदेश नआए पनि फरार व्यक्तिबारे सूचना पाउँदा पक्राउ गर्ने कानुनी दायित्व प्रहरीले पूरा गरेन। आदेशपछि कोइरी भूमिगत भए। प्रहरी उनको खोजिमा रहेको दाबी आए पनि उनी पक्राउ परेका छैनन्। 

बुधबार निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको नामावलीमा संघीय संसद्का तीन सय ३१ र प्रदेश सांसद पाँच सय ५० गरी आठ सय ८१ जनाको नाम छ।

रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङको नाम भने मतदाता सूचिमा छैन। निष्क्रिय नागरिकताको कारण रविको सांसद पद खारेज भइसकेको छ।

गुरुङ भ्रष्टाचार अभियोगका कारण निलम्बनमा छन्। चौधरी अदालतबाट आगजनीमा ६ महिना कैद पाएको खुलेपछि पक्राउ परेर जेल परेका थिए। तर राष्ट्रपतिबाट कैद माफी पाएपछि उनी कारागार मुक्त भइसकेका छन्।

फागुन १०, २०७९ बुधबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।