डिआइजी सिंहको राजीनामाबारे केन्द्रलाई जानकारी छैन : प्रहरी प्रवक्ता
काठमाडौँ : नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले डिआइजी अशोक सिंहले राजीनामा दिएकोबारे प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको बताएका छन्।
जन्म मिति विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सिंहले राजीनामा दिएकोबारे केही अनलाइन न्युज पोर्टलमा समाचार प्रकाशित भएपछि उकेराले प्रहरी प्रवक्ता पोखरेलसँग जिज्ञासा राखेको थियो।
'डिआइजी सिंहले राजीनामा दिए हेडक्वार्टरै दिने हो। अहिलेसम्म उहाँको राजीनामा पत्र हेडक्वार्टर आएको छैन।'
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह काठमाडौँ उपत्यका बाहिर छन्।
सरकारले एआइजी बढुवाको तयारी थाले लगत्तै सिंहको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्र विवादमा तानिएको थियो। यसबारे अख्तियारमा उजुरी परेको थियो।
उनको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको र सिंहले जन्म मिति फेरबदल गरेर उमेर बढाएर प्रहरी सङ्गठनमा काम गरिरहेको दाबी आइरहेका छन्। सिंह प्रहरी सङ्गठनका विवादित प्रहरी अधिकृत हुन्।
फागुन १०, २०७९ बुधबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।