चिनियाँ राजदूत पछि ओली पुगे बालुवाटार, राष्ट्रपति पदका लागि दौडधूप जारी
काठमाडौं : चिनियाँ राजदूत छन् सङपछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसर भेटमा यी दुईबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारीका विषयमा छलफल भएको छ।
सत्ता गठबन्धनका बेला राष्ट्रपति आफ्नो भागमा परेको भन्दै एमालेले राष्ट्रपतिमा दाबी गरिरहेको छ। तर यस विषयमा माओवादीसँग कुरा नमिल्दा सत्ता गठबन्धन नै टुट्ने खतार पनि बढेको छ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन मात्र बाँकी रहेको अवस्थामा राष्ट्रपतिका लागि सबै दलले आ-आफ्नै दाबी प्रस्तुत गरिरहेका छन्।
हिजो (मंगलबार) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन अगाडि झलनाथ खनाललाई राष्ट्रपति बनाउन कांग्रेस र माओवादी केन्द्रको नेतृत्व सहमत भएको दाबी गरेका थिए।
उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले भने पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव राखेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र जित्ने दाबी गरेका थिए।
आज (बुधबार) बिहानै चिनियाँ राजदूत छन् सङ पनि राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास, बालुवाटार पुगेका थिए।
राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा र दलहरूकाबीचमा राष्ट्रपतिको उम्मेदवारका लागि छलफल भइरहेका बेला सङले प्रचण्डसँग दोस्रो पटक भेटवार्ता गरेका हुन्।
राष्ट्रपतिको उम्मेदवारका लागि दलहरूबीच सहमती हुन नसकेर विभिन्न दाबीहरू चलिरहँदा सङले पनि भेटवार्ताको क्रमलाई बढाएका हुन्।
उनले यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीसँग पनि भेटवार्ता गरिसकेका छन्।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका फागुन १३ गतेलाई तोकिएको छ।
फागुन १०, २०७९ बुधबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।