रास्वपा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि खोलिएको पार्टी’ भन्दै जनमोर्चाले चितवन-२ मा उम्मेदवारी दिने
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी इसाईकरण र पश्चिमाहरूको स्वार्थपूर्तिका लागि खोलिएको पार्टी’ भएको दाबी गर्दै राष्ट्रिय जनमोर्चाले चितवन-२ को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेले निष्क्रिय नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको पुष्टि गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको उम्मेदवारीदेखिकै प्रक्रिया रद्द गरेपछि आगामी वैशाख १० मा चितवन– २ मा उपनिर्वाचन हुँदै छ।
मङ्गलवार बसेको पार्टीको संसदीय बोर्डको बैठकले चितवन–२ को उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै सो निर्णय बढ्दो अमेरिकी साम्राज्यवाद, इसाइकरण र पश्चिमाको स्वार्थपूर्तिविरुद्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले ‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्न उपनिर्वाचनलाई सङ्घर्षको महत्त्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।
उप निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको आव्हान गरिसकेको छ। राहदानी दुरुपयोगमा अनुसन्धान जारी रहे पनि रास्वपाबाट लामिछाने नै उम्मेदवार बन्ने तयारीमा रहे पनि औपचारिक घोषणा भने गरेको छैन। उनी उम्मेदवार बने र नतिजा पुन उनकै पक्षमा आएको हकमा राहदानीमा अदालतबाट दोषी ठहर भएमा चितवन २ मा पुन उप निर्वाचन हुनेछ।
लामिछाने आफैँले अमेरिकी नागरिकको हैसियतमा अमेरिकी पासपोर्ट प्रयोग गरिरहेको बेलामा नेपाली पासपोर्ट पनि बनाएको स्वीकार गर्दै तर प्रयोग नगरेकाले दुरुपयोग भन्न नमिल्ने दाबी गरिसकेका छन्।
यसको आधारमा अदालतमा मुद्दा पुगेमा उनी दोषी प्रमाणित हुने सम्भावना बलियो छ। यो संसद्को आयु रहेसम्म पासपोर्टमा दोषी ठहर भएमा उनको संसदीय राजनीतिको यात्रा समाप्त हुनेछ भने चितवन २ को उपनिर्वाचनको नतिजा उनको पक्षमा आए पनि पुन दोस्रो पटक उप निर्वाचन हुन सक्नेछ।
जनमोर्चाले उम्मेदवारी दिने घोषणा गरे पनि अन्य दलले घोषणा गरेका छैनन्। मङ्सिर ४ मा सात दलको तर्फबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बनेका थिए। एमालेबाट कृष्णभक्त पोखरेल र राप्रपाबाट रविन अधिकारी उम्मेदवार बनेका थिए।
लामिछानेले ४९ हजार ३ सय मत पाएर जित्दा श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए। अधिकारीले ९ सय ५५ मत पाएका थिए।
कांग्रेस र एमालेबाट श्रेष्ठ र पोखरेलले नै दाबी गरेका छन्। तर पार्टीले कसलाई उम्मेदवार बनाउने र एकल वा गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छैनन्।
फागुन ९, २०७९ मंगलबार २२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।