इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई
काठमाडौँ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार सन् २०२२ का लागि कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएसकी तारा वाग्लेले संयुक्त रूपमा पाएका छन्।
पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले दाहाल र वाग्लेलाई सो पुरस्कार दिने निर्णय गरेको इन्जाका सचिव दीपक रिजालले जानकारी दिएका छन्। तर कुन समाचारका लागि सो पुरस्कार दिइएको हो सो भने खुलाइएको छैन।
दाहाल २०६४ सालदेखि पत्रकारितामा संलग्न छन्। उनले कारोबार दैनिक, नागरिक दैनिकमा काम गर्दै हाल कान्तिपुर दैनिक कार्यरत छन्। दाहालले यस अगाडि ललिता निवास जग्गा प्रकरणको खुलासा गरेका थिए। उनले यस अगाडि आर्थिक विषयमा खोजी पत्रकारिता गरेबापत पाउने सेजन पुरस्कार समेत पाइसकेका छन्।
अर्की पत्रकार वाग्ले १५ वर्षदेखि पत्रकारितामा संलग्न छिन्। इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरिसकेको छ। बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय सार्वजनिक भइसकेको छ।
पुरस्कारका लागि छनोट भएका सबैलाई इन्जा स्थापना दिवसको अवसरमा फागुन १७ मा काठमाडौँमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
फागुन ९, २०७९ मंगलबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।