उकेरा टप फाइभ : घरेलु सिरिजमा नेपालको क्लिन स्विपदेखि वैदेशिक रोजगारीमा आत्महत्याको डरलाग्दो आँकडासम्म
काठमाडौं : आज नेपाली राजनीति राष्ट्रपति चुनाव केन्द्रित थियो। आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन अगाडि झलनाथ खनाललाई राष्ट्रपति बनाउन कांग्रेस र माओवादी केन्द्रको नेतृत्व सहमत भएको दाबी गरेका छन्।
उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले भने पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव राखेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र जित्ने दाबी गरेका छन्।
आजका टप फाइभ
वैदेशिक रोजगारीमा आत्महत्याको डरलाग्दो आँकडा, अकर्मण्य सरकारी निकाय
उकेराले दिनको सुरुवात वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको बढ्दो सङ्ख्याको स्टाेरीबाट गरेको थियो। वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेसँगै यसै कारण नै आत्महत्या गर्नेहरूको आँकडा पनि डरलाग्दो छ।
अरुण चौधरीको सांसद पदबारे निर्वाचन आयोगले केही नगर्ने भएको छ। आगजनी मुद्दामा अदालतबाट तोकिएको कैद सजाय भुक्तानै नगरी फरार दोषीकै हैसियतमा कैलाली-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेर उनी विजयी भएका थिए।
निर्वाचन कानुन अनुसार कैद सजाय तोकिएको तर भुक्तान नगरेको व्यक्ति स्वतः उम्मेदवार बन्न अयोग्य हुन्छन्।
आजै उकेराले नेपाली चलचित्र प्रवर्द्धन गर्ने बहानामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोलीले सरकारी पैसामा दुबइ फेस्टमा मस्ती गरिरहेको समाचार प्रकाशित गरेको थियो।
घरेलु सिरिजमा नेपालको क्लिन स्विप, लिग–२ मा पहिलो पटक सिरिजको चारै खेल जित्न सफल
मंगलबार नै नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजमा लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई २ विकेटले हराउँदै सिरिज क्लिन स्विप गरेको थियो।
लिग–२ अन्तर्गतको कुनै पनि सिरिजमा नेपालले सबै, चारवटै खेल जितेको यो पहिलो पटक हो।
चौथो अंग : काठमाडौंका सम्पादकलाई कुन जिल्लामा को रिपोर्टर छ भन्ने समेत थाहा हुँदैन
उकेराले नियमित कोलम ‘चौथो अंग’मा आज बडिमालिकाका सम्पादक तथा हिमालयन टाइम्स र नेपाल टेलिभिजनका बाजुरा संवाददाता प्रकाश सिंहको अनुभव साटेको थियो।
जसमा उनले दुर्गमका रिपोर्टरका दुःख र मिडिया हाउसले गर्ने व्यवहार लगायतका बारेमा बताएका छन्।
फागुन ९, २०७९ मंगलबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।