मोटरसाइकल चालकको पक्षमा उच्च अदालतको आदेश, मोबाइल होल्डर र गोप्रो प्रयोग वैध

मोटरसाइकल चालकको पक्षमा उच्च अदालतको आदेश, मोबाइल होल्डर र गोप्रो प्रयोग वैध

काठमाडौँ : अफलाइन राइडर बढेको भन्दै बाइक मोडिफाइको परिभाषामा पारेर ट्राफिक प्रहरीले रोकेको मोबाइल होल्डर र स्ट्यान्ड राख्न अदालतले बाटो खोलेको छ।

राइड सेयरिङ गर्नेहरूले मोटरसाइकलमा राख्ने स्ट्यान्ड र मोबाइल होल्डर अवैध भन्दै यातायात व्यवस्था विभागको निर्देशनमा ट्राफिकले रोक लगाएको थियो। यसले दुर्घटना बढाएको उनीहरुको दाबी थियो।

चालकहरूले भने मोबाइल स्ट्यान्ड राख्दा को चालक हो भन्ने चिनिएर अफलाइन बढेको भन्दै राइड सेयरिङ कम्पनीको प्रभावमा यस्तो निर्णय भएको दाबी गर्दै आएका थिए।

सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले ट्राफिकको सो व्यवहारविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। सो रिटको सुनुवाइ गर्दै अदालतले मङ्गलवार मोटरसाइकलमा मोबाइल होल्डर र हेलमेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गर्यो।

अदालतले स्ट्यान्ड र गोप्रो क्यामेरा प्रयोग गर्नेमाथि जरिबाना नगर्न समेत आदेश दिएको छ यस्ता उपकरण प्रयोगबाट हुनसक्ने सबल र निर्बल पक्षहरूको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्न र आवश्यक कारबाही गरी उपयुक्त कानुनी मापदण्ड निर्धारण गर्न अदालतको आदेशमा उल्लेख छ।

फागुन ९, २०७९ मंगलबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।