हिमालयन गल्फ कोर्समा बुधवारबाट सूर्य नेपाल वेस्टर्न ओपन
काठमाडौँ : हिमालयन गल्फ कोर्समा बुधवारबाट सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको आयोजना हुने भएको छ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर खेलाडीले भाग लिनेछन्।
सूर्य नेपाल वेस्टर्न ओपनको यो २३ औँ संस्करण हो। दुई दिनको खेलपछि उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन्।
शनिवार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ। प्रतियोगितामा पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्ने छन्।
यो पटक प्रतियोगिताको नगद पुरस्कार राशि वृद्धि गरेर आठ लाख बनाइएको छ।
विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पाउनेछन्।
नेपाल नम्बर एक व्यावसायिक खेलाडी शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य समेत प्रतियोगितामा सहभागी छन्।
सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरु गर्दै छन्।
प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ अन्तर्गत रहेको र एमेच्योर खेलाडीले आफ्नो वरीयता सुधार गर्न महत्त्वपूर्ण अङ्क प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ।
फागुन ९, २०७९ मंगलबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।