फिल्म प्रमोसनको बहानामा ३० लाख सरकारी रकममा गर्लफ्रेन्ड र छोरासहित भुवनको मस्ती, प्रकाश पनि श्रीमतीसहित

फिल्म प्रमोसनको बहानामा ३० लाख सरकारी रकममा गर्लफ्रेन्ड र छोरासहित भुवनको मस्ती, प्रकाश पनि श्रीमतीसहित

काठमाडौँ : नेपाली चलचित्र प्रवर्धन गर्न सरकारको ३० लाख आर्थिक सहयोगमा दुबइमा भएको नेपाल फेस्ट केही कलाकार, केही पत्रकार, केही चलचित्र विकास बोर्डका पदाधिकारी अनि केही सञ्चार मन्त्रालयका कर्मचारी सहभागी भए।

चार दिनसम्म चल्ने फेस्टका लागि चलचित्र विकास बोर्डले मानव तस्करी र वैदेशिक रोजगार ठगीमा मुछिएको सूर्य कर्पोरेसनलाई ३० लाखमा जिम्मा दिएपछि अधिकांश कलाकारहरूले फेस्टको विरोध गरेका थिए।

अनुमति नै नलिई फिल्म प्रदर्शन गर्न खोज्दा महापुरुष टिमले सार्वजनिक रूपमा आपत्ति जनायो भने वरिष्ठ कलाकार निर शाह र कलाकार विजय लामाले अनुमति नै नलिई कार्यक्रमको पोस्टरमा तस्बिर राखेको भन्दै आपत्ति जनाए।

फिल्म क्षेत्रमा चौतर्फी विरोध भए पनि आफ्नो व्यापारिक साझेदारी समेत रहेको विवादित कम्पनीसँगको सहकार्य तोड्न चाहेनन् बोर्ड अध्यक्ष भुवन केसीले।

सरकारी रकम छोरा तथा कलाकार अनमोल केसी अनी आफूसँग लिभिङ टुगेदरमा बसेकी जिया केसीलाई लिएर उनी दुबई पुगेका थिए। उनीसँगै कलाकार उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, बोर्ड सदस्य राज कटुवाल, प्रशान्त ताम्राकार, निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार निर्देशक भूषण दाहाल सूर्य कर्पोरेसनको अतिथि बनेर फेस्टमा सहभागी भए।

हास्य कलाकार सन्दीप क्षेत्री लामो समयदेखि विवादित कम्पनीको कार्यक्रममा सहभागी हुँदै आएका छन्। उनी यस पटक पनि दुबइ गए। हल सञ्चालक नकिम उद्दिन, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, पनि सहभागी थिए। 

'चिप्ल्याउने अंकल'को रुपमा परिचित कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित नेपाली फिल्म प्रमोसन गर्न दुबई पुगेका थिए। उनीहरूसँगै केही पत्रकार र केही युट्युबवर दुबई पुगेका थिए।

दुबइको होटेल होलिडे इनमा कस्तो कार्यक्रम भयो दुबइका सञ्चारमाध्यमहरूमा समाचार भेटिएन। नेपाली मिडियामा पनि नेपाली फेस्टबारे न्यून समाचार मात्र फेला परे।

दुबइका कलाकारसहित नेपाली फिल्म प्रमोशन गर्न ३० लाख सरकारी खर्चमा आयोजिक कार्यक्रमको मञ्च। तस्बिर : देशसञ्चार।

बरु सामाजिक सञ्जाल फेस्टको बहानामा दुबई पुगेका परिवारको तस्बिरले बढी भरिएको थियो। फेस्टमा सहभागीहरूको तस्बिरले दुबईमा नेपाली फिल्मको लोकेसन भन्दा दुबईको लोकेसनको प्रमोसन गरिरहेको थियो। चार दिन भएको फेस्ट सक्किएपछि भुषणसहितका केही पाहुना नेपाल फर्किसकेका छन्। केही उतै घुमघाम गरेर नेपाली फिल्म प्रमोशनमा ब्यस्त छन्।

कलाकारमै फुट, दुबइका कलाकार आएनन्

जापानमा साङ्गीतिक र चलचित्र अवार्ड सम्बन्धी कार्यक्रम गर्दै आएको सूर्य कर्पोरेसन अवैध रूपमा मानव ओसारपसारमा संलग्न रहेको खुलेपछि नेपाली चलचित्रको विदेशमा प्रवर्धन गर्न उसैलाई जिम्मा दिने बोर्डको सम्झौतापछि कलाकारहरू नै विभाजित भएका थिए। अरू त अरू केसीलाई बोर्डको अध्यक्ष बनाउन सक्रिय पहल गरेका वरिष्ठ कलाकार निर शाहले समेत सो कार्यक्रमप्रति असहमति जनाउँदै कार्यक्रममा सहभागी भएनन्।

दुबइमा कार्यक्रम गरेर नेपाली फिल्मको बजार खोज्ने र त्यहाँका फिल्म निर्माणमा संलग्नहरूसँग अन्तर्क्रिया गरेर नेपालमा फिल्म सुटिङमा आउन प्रोत्साहित गर्ने दाबी गरिएको थियो। तर कार्यक्रममा दुबइका कुनै कलाकार र फिल्म निर्माणमा संलग्नहरू सहभागी नै भएनन्। दुई नेपाली फिल्म प्रदर्शन गर्दा हलमा दुबइमा बसेका नेपाली र नेपालबाट गएकाहरू मात्र सहभागी भएका थिए।

नेपाली फिल्म प्रदर्शन गर्न विश्वसनीय कम्पनी फेला नपरेपछि बोर्डले नेपाली कामदारहरू लैजाने एक कम्पनीसँग सम्झौता गरेर फर्किएको सो फेस्टमा सहभागीले जानकारी दिए।

सम्बन्धित समाचार

फागुन ९, २०७९ मंगलबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।