२७ विधेयक निष्क्रिय छन् तर संसद्मा ल्याउँदैन सरकार

२७ विधेयक निष्क्रिय छन् तर संसद्मा ल्याउँदैन सरकार

काठमाडौँ : सरकारले सांसदलाई कुनै बिजनेस दिन नसक्दा हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने देखिएको छ। अघिल्लो प्रतिनिधि सभामा निष्क्रिय बनेका महत्त्वपूर्ण विधेयकहरू भए पनि अहिलेसम्म सरकारले अधिकांश विधेयक पुन दर्ता नगर्दा संसद्मा केवल शून्य र विशेष समयमा सांसदहरूले बोल्ने काम मात्र भएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरूलाई पुनः दर्ता गर्ने गरी सरकारले कुनै पनि विधेयक नल्याएको बताए।

उनका अनुसार अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय भएका थिए। त्यसमध्ये सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ। सरकारले अन्य कुनै पनि विधेयकहरू संसद् सचिवालयमा दर्ता गराएको छैन।

हालसम्म प्रतिनिधि सभामा ४ वटा विधेयक र राष्ट्रिय सभामा ९ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन्। उनले प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकका साथै राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा सन्देशसहित तीन वटा विधेयक रहेको छ।

प्रतिनिधि सभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेस भइसकेको पनि बताए। प्रतिनिधि सभाको आगामी बैठकमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस हुने सम्भावना रहेको उनले बताए।

‘आजका मितिसम्म प्रतिनिधि सभामा ४ वटा विधेयक र राष्ट्रिय सभामा ९ वटा विधेयक विचाराधीन अवस्थामा छन्। प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण, मनि लाउण्डरिङ, निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक छ भने राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा सन्देशसहित तीन वटा विधेयक प्राप्त भएका थिए,' उनले भने' अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सन्देशसहित प्राप्त भएको थियो।'

वैशाख अन्तिम साताबाट बजेट अधिवेशन सुरु हुने हुँदा आगामी चैत्र भरको समय अघिल्लो कार्यकालमा निष्क्रिय भएका विधेयक जगाएर प्रक्रिया अघि बढाउन समय अपर्याप्त हुने देखिन्छ।

-न्युज एजेन्सी नेपालको समाचार सम्पादन गरी प्रकाशित 

फागुन ९, २०७९ मंगलबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।