विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका छन्। आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्।

“वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन”, उनले भने, “नेपाल स्वतन्त्र भएर आत्मसममानको साथ बाँच्ने स्थितितिर जाँदैन।”

वर्तमान युग विज्ञान र प्रविधिको भएकोले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। “अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन।”

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन कानून तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए।

आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्त्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति थियो।

फागुन ९, २०७९ मंगलबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।