पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति र सम्मान

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच सङ्कायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ।

उसले सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेको हो।

हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रहेको छ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यालय एनसेल आईकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ विद्यार्थीका अभिभावक, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक, एनसेलका व्यवस्थापनका सदस्यहरू र अन्य पाहुनाहरूको उपस्थितिमा प्रदान गरिएको थियो।

२०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको थियो।

उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो।

पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्रा.डा.इन्द्र प्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए। त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल ईस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. बज्राचार्यले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानबाट हरेक वर्ष विद्यार्थीलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गरेकोमा धन्यवाद दिए।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत मन्डी चोङले देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) सँगको सहकार्यमा २०७१ साल देखि विद्यार्थीहरूले प्राप्त गरेको नतिजाको आधारमा उनीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पुर्याउन पाउँदा कम्पनी खुसी रहेको बताएका थिए।

२०७१ बाट सुरु भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरूको पहिचान र उनीहरूको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको कम्पनीले जानकारी दिएको छ।

प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ पाँच सङ्कायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्छन्।

कम्पनीले दिएको जानकारी अनुसार कुल १८ जना मध्ये पाँच वटै संकायका छात्राहरूबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक-एक जना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने गर्दछन् ।

उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १-१ जना र यी पाँचै संकायका छात्राहरू मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्छन्।

फागुन ८, २०७९ सोमबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।