हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पे’ नामक डिजिटल वालेट

हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पे’ नामक डिजिटल वालेट

काठमाडौं : लोकप्रिय एप हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताको लागि नयाँ सुविधाको रुपमा डिजिटल वालेट सेवा ‘हाम्रो पे’ को सुरुवात गरेको छ।

प्रयोगकर्ताहरुले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन्। यसका लागि छुट्टै मोबाइल एप डाउनलोड गर्नुपर्ने छैन।

एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै यस एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने बताइएको छ।

हाम्रो पात्रोलाई नेपालको ‘सुपर एप’ बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा ‘हाम्रो पे’ लाई ल्याइएको सीईओ शंकर उप्रेतीले बताए।

‘हामी हाम्रो पात्रोलाई सुपर एप बनाउन खोज्दैछौं। प्रयोगकर्ताहरूले हामीलाई दिएको यति धेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,’ उनले भने, ‘त्यसै अन्तर्गत हामीले  हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौं । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्तामाझ पुर्याउने हाम्रो विश्वास छ।’

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, ‘लाइभ च्याट सपोर्ट’ लगायतका फिचर यसमा छन् भने यो एप ६ वटा भाषामा प्रयोग गर्न सकिन्छ।

फागुन ८, २०७९ सोमबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।