लिग–२ मा नामिबियाले लगातार चौथो हार भोग्यो, फाइदा नेपाललाई
काठमाडौं : नेपालमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिजमा नामिबिया चारै खेलमा पराजित भएको छ।
सोमबार सिरिजको आफ्नो अन्तिम खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भयो। नामिबिया जारी सिरिजमा नेपालसँग खेलेका दुवै खेलमा पनि पराजित भएको थियो।
नामिबियाले यो सिरिजका सबै खल हारेपछि सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने नेपालको योजनामा फाइदा पुगेको छ।
सात टिम सहभागी लिग-२ का शीर्ष तीन टिमले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्।
जसअनुसार ३४ खेलमा ३७ अंक रहको नामिबियाले अब लिगमा बाँकी दुई खेल जितेमा उसको ४१ अंक हुनेछ। नेपाल हाल यस लिगमा २७ खेलमा २४ अंकसहित छैटौं स्थानमा छ।
अब नेपालले यदि आफ्नो बाँकी सबै ९ खेल जितेमा नेपालको ४२ अंक हुनेछ र नामिबियालाई पछि पार्दै नेपालले शीर्ष तीन टिमको रुपमा सोझै एकदिवसीय विश्वकप छनोट खेल्नेछ भने नेपालको एकदिवसीय मान्यता पनि जोगिनेछ।
आजको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भएको थियो। यसपछि जितको लागि २२२ रनको विजय लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमै अलआउट भएको थियो।
फागुन ८, २०७९ सोमबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।