टी-२० लिग ‘फिक्सिङ’मा ५ नेपालीविरुद्ध मात्रै मुद्दा, दाेषि देखिए पनि विदेशीविरुद्ध भने मुद्दा दर्ता भएन

टी-२० लिग ‘फिक्सिङ’मा ५ नेपालीविरुद्ध मात्रै मुद्दा, दाेषि देखिए पनि विदेशीविरुद्ध भने मुद्दा दर्ता भएन

काठमाडौं : नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ५ जना नेपालीविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ।

सोमबार जिल्ला अदालत काठमाडौंमा पूर्व खेलाडीहरु मेहबुब आलम, आदिल अन्सारी र नितेश शाहसँगै नविन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फिक्सिङ गरेर पैसा कमाउने रणनीति अनुसार नै भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले नेपाल टी–२० लिग सञ्चालन गरेको निष्कर्ष निकालेको थियो।

जसमा नेपाल टी–२० लिग सञ्चालन गर्ने संस्था सेभेन थ्री स्पाेर्टसका सञ्चालकहरू जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद धानीनै स्पट फिक्सिङमा संलग्न रहेको उल्लेख छ। यी सबै भारतिय नागरिक हुन्।

अनुसन्धान सक्काएर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रस्तावित राय सुझावमा यी सबैविरुद्ध अभियोग लगाउन सिफारिस गरिएको थियो।

तर यीसँगै फिक्सिङमा संलग्न देखिएका वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थीविरुद्ध पनि सोमबार मुद्दा दायर भएन।

सरकारी वकिल कार्यालयका अनुसार विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय भएकाले हाल उनीहरू विरुद्ध हाल मुद्दा दर्ता नगरिएको हो।

फिक्सिङबारे अनुसन्धान शुरू भएपछि प्रतियोगिता नै नसकिइ उनीहरू भागेका थिए।

फागुन ८, २०७९ सोमबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।