लुम्बिनीका नवनियुक्त मन्त्री अहिरले लिए शपथ
बुटवल: लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई आइतबार मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका थिए।
एक साताअघि कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मुख्यमन्त्री गिरीले मन्त्री बनाएका हुन्।
यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको थियो। त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति थियो। त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन्।
त्यस्तै, माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदबहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएो छ।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो। उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन्।
लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन्। यद्यपि मन्त्रालय भने १० वटै राखिने छ।
फागुन ८, २०७९ सोमबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।