मानहानि मुद्दामा पक्राउ परे विन्दवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी, फेसबुकको कभर फोटोमा राखेका छन् चर्चित सङ्गीतकर्मीका हस्ताक्षर
काठमाडौं: मानहानि मुद्दामा नेपाल प्रहरीको साइबर ब्यूरोले विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पक्राउ गरेको छ। रेग्मीलाई थाइल्याण्डबाट फर्कँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।
अहिले अदालतबाट म्याद थप लिएर रेग्मीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने भएको छ। महेशचन्द्र आचार्यले विद्युतीय माध्यमबाट चरित्र हत्या गरेको भन्दै रेग्मीविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए।
लामो समयदेखि रेग्मी र केही सङ्गीतकर्मीबीच विवाद छ। यसअघि रेग्मी र गायक प्रमोद खरेलबीच ‘प्रणय’ एल्बमको ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतबारे कुरा नमिल्दा आर्थिक स्वामित्वको विवाद सतहमा आएको थियो।
रेग्मीले खरेलविरुद्ध गीतकार, सङ्गीतकार तथा लगानीकर्ताको अनुमतिबिना एल्बममा समावेश गीत अनधिकृतरूपमा स्टेजहरूमा प्रयोग गरेको आरोप लगाउँदै एक करोड रूपैयाँ क्षतिपूर्तिको दावीसहित प्रतिलिपि अधिकारको कार्यालयमा उजुरी दिएका थिए।
यी पनि,
रेग्मीको फेसबुकको कभर फोटोमा केही चर्चित सङ्गीतकर्मीहरूको हस्ताक्षरसहितको तस्बिर पोस्ट गरिएको छ। २१ जुन २०२१ मा गरिएको उक्त पोस्टमा उनले लेखेका छन्, 'मसँगको व्यक्तिगत इगो साध्न, मेरो निर्दोष परिवारमाथि हात हालेका यी हस्ताक्षरहरू जीवनभर भुल्ने छैन।'
यो पोस्ट आर्थिक स्वामित्वकै विवादका सन्दर्भमा गरिएको बुझिन्छ। यहाँ गायक राजेशपायल राईदेखि प्रमोद खरेल, रचना रिमाल, शिव परियार, इन्दिरा जोशी, सत्य-स्वरूप आचार्य लगायतले हस्ताक्षर गरेका छन्। रेग्मी हस्ताक्षरकर्ताको विपक्षमा देखिन्छन्।
फागुन ८, २०७९ सोमबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।