अमेरिकामा बन्दुक हिंसा: यो वर्ष मात्र पाँच हजार आठ सयको मृत्यु

अमेरिकामा बन्दुक हिंसा: यो वर्ष मात्र पाँच हजार आठ सयको मृत्यु

एजेन्सी: आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ। बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ। 

आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्। मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो।

गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैन भने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो।

फागुन ८, २०७९ सोमबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।