जसपाको विधान अधिवेशन आगामी चैतमा

जसपाको विधान अधिवेशन आगामी चैतमा

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आगामी चैतमा हुने भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो।

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको थियो।

उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्त्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए।

यसैगरी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ। जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ।

उक्त बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ।

बैठकमा गत प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। जसपाले एकीकृत समाजवादी लगायत अन्य दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको छ।

फागुन ८, २०७९ सोमबार ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।