माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौं: माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न आज माओवादीको पदाधिकारी बैठक बस्ने भएको हो।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। फागुन १३ गते राष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि मिति तोकिएको छ।

राष्ट्रपतिमा मुख्यतः एमालेले उठाउने उम्मेदवार र कांग्रेसले उठाउने उम्मेदवारमा माओवादीले कसलाई समर्थन गर्ने भन्ने द्विविधा छ।

यसअघि एमालेको समर्थनमा पुष्पकमल दाहाल 'प्रचण्ड' पुस १० गते प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। तर, विश्वासको मत लिने क्रममा प्रचण्डलाई कांग्रेसले समेत विश्वासको मत दिएपछि सत्ता गठबन्धन नै सङ्कटोन्मुख भएको थियो।

त्यसयता एमाले पूर्व सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने र माओवादीको समर्थन हुनुपर्ने अडानमा छ। माओवादी भने राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा उभिएको छ।

हिजो मात्र राष्ट्रपतिका दुई आकांक्षीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनीसँग कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पनि सँगै थिए।

यस्तै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि बालुवाटार पुगेका थिए।

फागुन ८, २०७९ सोमबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।