राष्ट्रपतिको आकाङ्क्षी बोकेर देउवा बालुवाटार पुगे, वचन हैन आश्वासन लिएर फर्किए
काठमाडौँ : राष्ट्रपतिका दुई आकांक्षीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे।उनीसँग काङ्ग्रेसबाट हुनसक्ने राष्ट्रपतिको उम्मेदवारका आकाङ्क्षी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला सँगै थिए।
देउवाले आफ्नै समूहका उपसभापति पूर्णबहादुर खड्कासँगै इतर समूहका महामन्त्री गगन थापालाई सँगै लिएर बालुवाटार पुगेका थिए।
भेटको उद्देश्य राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सघाउने र नयाँ गठबन्धन बनाउन केन्द्रित थियो। छलफलमा सहभागी एक नेताका अनुसार निर्वाचनताकाको गठबन्धन भत्किनुमा कसको गल्ती भन्नेबाट छलफल निकै अगाडि बढी सकेको छ।
कांग्रेसले राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवारलाई सघाउन आग्रह गर्दै त्यसको परिणाममा एमाले सरकारबाट बाहिरिए आफूहरूको साथ रहने आश्वासन दिएका थिए।
'काँग्रेसको आश्वासनमा प्रचण्डले शङ्का गरिहालेको देखिँदैन' एक नेताले भने' कांग्रेसले नमानेकैले एमालेसहितको सरकार बनेको र तत्काल गठबन्धन भत्किए साह्रै अस्थिर नेताको छवि बन्ला कि भन्ने चिन्ता भने देखिन्छ।'
बैठकमा प्रचण्ड राष्ट्रपति अहिले सरकारलाई समर्थन गरेका दलमध्येबाट मात्र बन्न सक्ने पक्षमा देखिएनन्। उनले आफू राष्ट्रपतिको हकमा राष्ट्रिय सहमति खोजिरहेको र यसबारे पार्टी गठबन्धन दुबैतिर छलफल गरेर निर्णय दिने आश्वासन दिएका थिए।
उता एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारै यो सरकारको कुण्डलीमै राष्ट्रपति एमालेको हुने भनेर लेखिएको भन्दै कि राष्ट्रपति आफ्नो दलको हुन्छ कि सरकार ढल्छ भन्ने सन्देश दिएका थिए।
एकीकृत समाजवादीका नेता माधव नेपालले सरकारको आयु राष्ट्रपति निर्वाचनसम्म भनेर तोकिसकेका छन्। जनमत सरकारमा भएर पनि गठबन्धनको बैठकमा जाँदैनन्। नागरिक उन्मुक्ति पार्टीको असहयोगमा सुदूर पश्चिमको एमाले नेतृत्व सरकार ढल्यो।
उता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले पनि राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुनुपर्ने भन्दै माओवादी केन्द्रको पक्षमा नरम देखिएको छ। एमालेसँग राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति देखिएका छन्।
त्यसमा पनि सहज भने छैन। रास्वपाले नीति उलङ्घन नगरे उ राष्ट्रपति दलको हैन स्वतन्त्र व्यक्ति हुनुपर्छ भन्ने पक्षधर दल हो। संवैधानिक राजतन्त्र पक्षधर राप्रपालाई राष्ट्रपतिमा भोट हाल्न कठिन छ।
यी सबै परिस्थिति हेरेर हुनसक्छ कांग्रेसका नेताहरूले आइतबार गठबन्धनका लागि एमालेभन्दा काँग्रेस सहज रहेको भन्दै प्रचण्डलाई आश्वस्त बनाउने प्रयास गरेका थिए। तर निर्णय भने भएन। न प्रचण्डले वाचा नै गरे।
'राष्ट्रपतिको सवालमा गठबन्धनमा एक मत छैन। ओलीलाई विश्वास गरिहाल्ने अवस्थामा प्रधानमन्त्री पनि देखिएनन्' बैठकबारे जानकार कांग्रेसका एक नेताले उकेरासँग भने' बैठकमा निकै गम्भीर विषयबारे पनि छलफल भएका छन्। त्यसबारे तत्काल बोली हाल्ने अवस्था छैन।बिस्तारै सार्वजनिक हुन्छ।'
फागुन ७, २०७९ आइतबार २३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।