मन्त्री नै हेरफर गर्न लगाएर लुम्बिनी प्रदेश सरकारमा सहभागी भयो जसपा

मन्त्री नै हेरफर गर्न लगाएर लुम्बिनी प्रदेश सरकारमा सहभागी भयो जसपा

बुटवल : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ। आइतबार जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि सुधारमन्त्री नियुक्त भएका छन्।

जसपालाई मनाउन सरकारको नेतृत्व गरेको एमालेले एक साताअघि मात्र मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्रि कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाएको हो।

मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार अहिरलाई नियुक्त गरेका हुन्।

जसपा संसदीय दलका नेता अहिरलाई भोलि सोमबार प्रदेश प्रमुख कार्यालयले शपथको तयारी गरेको छ। यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो।

त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो। त्यसैले मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन्।

त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई दिएका छन्।

लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन्। यद्यपि मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका तुल्सी शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीय रुपमा राखिने भएको छ।

फागुन ७, २०७९ आइतबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।